दार्चुला । दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना पक्राउ परेका छन् । महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्यापछि तीनजना समातिएका हुन् ।
महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको थियो। उनलाई चक्कु प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। हत्यामा संलग्न भएको आशंकामा महाकाली नगरपालिका-४ बस्ने दीपिका फर्सवान, मानमति आउजी र प्रेम बहादुर बोहरा समातिएका हुन् ।
अहिले घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर गहिरो चोट लागेको देखिएको छ।