काठमाडौँ। विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबिचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो ।
वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबिच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
छलफलपछि वि.सं. २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समितिले गरेको छ ।