काठमाडौँ । संसार बदल्नेहरू सधै शक्तिशाली, धनी वा सुविधासम्पन्न हुँदैनन्। कतिपय त असफलता, अभाव र मानसिक पीडाबाट उठेर इतिहास रच्ने गर्छन्। यस्तै एक नाम हो– अगस्ट कम्ट। आज उनी समाजशास्त्रका पिता का रूपमा चिनिन्छन्, तर उनको जीवन निरन्तर संघर्षको कथाले भरिएको थियो।
सामान्य परिवार, असामान्य सपनाः सन् १७९८ मा फ्रान्समा जन्मिएका कम्ट कुनै सम्पन्न परिवारका थिएनन्। बाल्यकालदेखि नै उनी प्रश्न गर्न रुचाउने स्वभावका थिए–समाज किन यस्तो छ? मानिस किन फरक–फरक व्यवहार गर्छ ? यस्ता प्रश्नले उनलाई अरूभन्दा फरक बनायो। उच्च शिक्षा अध्ययनका क्रममा उनी पेरिस पुगे। पढाइमा तेज भए पनि उनको विद्रोही सोच र स्वतन्त्र विचारका कारण संस्थागत समर्थन पाउन सकेनन्। जागिर थिएन, स्थायी आम्दानी थिएन–जीवन झन् कठिन बन्दै गयो।
आर्थिक अभाव र मानसिक पीडाको बीचमाः कम्टको जीवन आर्थिक संकटले थिचिएको थियो। लेखेर बाँच्नुपर्ने बाध्यता, वैवाहिक जीवनको असफलता र समाजको उपेक्षाले उनलाई मानसिक रूपमा कमजोर बनायो। एक समय त उनी गम्भीर मानसिक रोगबाट ग्रसित भए। सन् १८२६ मा उनी अस्पतालसम्म पुगे। धेरैले सोचे– अब कम्टको यात्रा सकियो। तर यहीँबाट सुरु भयो उनको सबैभन्दा ठूलो संघर्ष–आफैँसँगको लडाइँ।
हारबाट जन्मिएको विचारः स्वास्थ्यमा केही सुधार आएपछि कम्टले हार मान्नुभन्दा सोच बदल्ने निर्णय गरे। उनले ठाने यदि समाजमा समस्या छ भने त्यसको समाधान अनुमानले होइन, विज्ञानले खोज्नुपर्छ। यही सोचबाट जन्मियो सकारात्मक दर्शन उनले भने– समाजलाई पनि वैज्ञानिक विधिबाट अध्ययन गर्न सकिन्छ। यही क्रममा उनले पहिलो पटक समाजशास्त्र शब्द प्रयोग गरे।
असफल जीवन, सफल विचारः कम्टको व्यक्तिगत जीवन कहिल्यै सहज भएन। उनी जीवनभर आर्थिक रूपमा कमजोर नै रहे। तर उनका विचार बलिया बन्दै गए। उनले मानव सोचको विकासलाई तीन चरण मा व्याख्या गरे–धार्मिक, दार्शनिक र वैज्ञानिक। उनको कृति ले समाज बुझ्ने दृष्टिकोण नै बदलिदियो। आज नीति निर्माण, सामाजिक अनुसन्धान र जनगणनासम्म उनका विचार प्रयोगमा छन्।
सन् १८५७ मा अगस्ट कम्टको निधन भयो। जीवनभर उपेक्षा र संघर्ष भोगेका कम्टले मृत्युपछि भने विश्वव्यापी सम्मान पाए। आज उनका विचार विश्वविद्यालयका पाठ्यक्रमदेखि अनुसन्धान केन्द्रसम्म जीवित छन्। अगस्ट कम्टको कथा केवल दर्शनशास्त्रको इतिहास होइन, आम मानिसका लागि प्रेरणाको पाठ हो। सफलता सधैं सहज यात्राबाट आउँदैन। कहिलेकाहीँ असफलता नै सबैभन्दा ठूलो शिक्षक हुन्छ। अभाव, रोग र अस्वीकृतिबीच पनि यदि विचारप्रति इमानदार रहन सकियो भने, एक साधारण मानिसले पनि संसारको सोच बदल्न सक्छ।