काठमाडौं । सरकारले चुनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।
छलफलका क्रममा जनमतका नेताहरूले आफूहरू निर्वाचनमा जान तयार भएको र सुरक्षा लगायतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए।छलफलपछि उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउन राजनीतिक दलका कार्यालय पुगेर छलफल गरेको बताए । उनले सरकारको तर्फबाट चुनावको तयारी अगाडी बढाउन जनमतका नेताहरूले सुझाव दिएको उल्लेख गरे ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक विषय भएको बताए । आफूहरू चुनावमा जान तयार रहेको र सुरक्षा लगायतका सबै तयारीमा गम्भीर भएर लाग्न आफूले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।
अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशङ्का गर्नुपर्ने ठाउँ नदेखिएको जिकिर गरे । उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो । दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।