काठमाडौँ । जीवन केका लागि हो ? सुखका लागि कि कर्तव्यका लागि ? धनका लागि कि मोक्षका लागि ? यही प्रश्नको उत्तर पूर्वीय दर्शनले हजारौँ वर्षअघि नै चार शब्दमा दिएको छ—धर्म, अर्थ, काम र मोक्ष। यी नै जीवनका चार पुरुषार्थ हुन्, जसलाई मानवीय जीवनको सन्तुलित मार्गचित्र मानिन्छ। धार्मिक ग्रन्थ, दर्शन र सामाजिक अभ्यासमा आधारित यी पुरुषार्थ केवल पूजापाठका विषय मात्र होइनन्, आजको आधुनिक जीवनसँग पनि उत्तिकै सान्दर्भिक छन्।
धर्म सही बाटोको दिशानिर्देशः धर्म भन्नाले केवल पूजा, व्रत वा मन्दिर–मस्जिद होइन। सत्य, इमानदारी, कर्तव्य, न्याय र नैतिक आचरण नै धर्मको मूल भाव हो। समाजमा जिम्मेवार नागरिक बन्ने आधार यही धर्मले तय गर्छ।
अर्थ जीवन सञ्चालनको साधनः अर्थ भनेको धन, सम्पत्ति र रोजगारी हो। तर पूर्वीय दर्शनले लोभ होइन, परिश्रम र सदुपयोगबाट कमाएको अर्थलाई मान्यता दिन्छ। धर्मअनुसार कमाइएको अर्थले मात्र व्यक्ति र समाज दुवै समृद्ध हुन्छन् भन्ने मान्यता छ।
काम इच्छा र सुखको सन्तुलनः काम भन्नाले भौतिक सुख, प्रेम, सौन्दर्य र मानवीय चाहनाहरू जनाउँछ। तर यो स्वेच्छाचारिता होइन। धर्म र अर्थको सीमाभित्र बसेर प्राप्त गरिएको सुख नै शास्त्रसम्मत ‘काम’ हो।
मोक्ष अन्तिम लक्ष्यः मोक्ष भनेको जन्म–मरणको बन्धनबाट मुक्त हुनु, आत्मिक शान्ति र परम सत्यको अनुभूति हो। सबै भौतिक चाहनाबाट माथि उठेर जीवनको सार बुझ्नु नै मोक्षको बाटो मानिन्छ।
विद्वानहरू भन्छन्, “चार पुरुषार्थमध्ये कुनै एकलाई मात्र समात्दा जीवन अधुरो हुन्छ।” धर्मले मार्ग देखाउँछ, अर्थले साधन दिन्छ, कामले जीवनलाई रसिलो बनाउँछ र मोक्षले अन्तिम सार प्रदान गर्छ। आजको भागदौडपूर्ण जीवनमा पनि यी चार पुरुषार्थ मान्छेलाई असन्तुलनबाट बचाउने दर्शनका खम्बा बनेका छन्। यही कारण, हजारौँ वर्ष पुरानो यो अवधारणा आज पनिकै सान्दर्भिक छ।