काठमाडौँ । आयुर्वेदअनुसार शरीर, मन र आत्माको सन्तुलन नै स्वास्थ्यको आधार हो। यस सन्तुलनको केन्द्रबिन्दु हो ‘अग्नि’, अर्थात् शरीरको पाचन शक्ति। विशेषज्ञहरू भन्छन्, अग्नि सन्तुलित हुँदा खाना सजिलै पच्ने, शरीरमा पोषण पुग्ने र ऊर्जा उच्च रहने गर्दछ।
तर कमजोर वा असन्तुलित अग्निले पेट फुल्ने, ग्यास, थकान, छाला समस्या र मानसिक चिडचिडापन जस्ता समस्या ल्याउन सक्छ। आयुर्वेदले अग्निलाई चार प्रकारमा वर्गीकरण गरेको छ –सम (सन्तुलित), विषम (अनियमित), मन्द (कमजोर) र तीक्ष्ण (अत्यधिक पाचन) अग्नि। सबैभन्दा महत्वपूर्ण जठराग्नि हो, जसले खाना पचाएर शरीरलाई पोषण र फोहोर पदार्थमा छुट्याउँछ। अग्नि सन्तुलित राख्नका लागि सही खानपान अत्यावश्यक मानिन्छ। वात प्रकृतिका मानिसले तातो, नरम खाना, पित्त प्रकृतिका मानिसले चिसो, हल्का खाना र कफ प्रकृतिका मानिसले हल्का, तातो, मसला भएको खाना खानु उपयुक्त हुन्छ।
विशेषज्ञहरूले भनेका छन्, अदुवा, जिरा, धनिँया, कालो मरिचजस्ता जडीबुटीले पाचन शक्ति बढाउँछ। साथै, दैनिक जीवनशैलीमा बिहान उठेर जिब्रो सफा गर्ने, तातो पानी पिउने, हल्का व्यायाम, प्राणायाम र ध्यानले अग्नि सन्तुलनमा मद्दत गर्छ। आयुर्वेदमा अग्निले केवल खाना मात्र होइन, विचार र भावनालाई पनि पचाउने काम गर्छ। सन्तुलित अग्नि भएको व्यक्ति ऊर्जा, मानसिक स्पष्टता र भावनात्मक सन्तुलन महसुस गर्छ, भने असन्तुलित अग्निले चिडचिडापन र मानसिक थकान ल्याउँछ।