काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्यका लागि संवाद अघि बढाइएको बताएका छन् । सोही क्रममा सोमबार राति काठमाडाौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग छलफल भएको उनले जानकारी दिए । ‘नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘टुंगोमा पुग्ने गरी काम गर्दैछौँ।’
बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो भन्ने प्रश्नमा उनले तत्काल त्यस चरणमा नपुगेको स्पष्ट पारे । ‘पहिले एक–अर्कालाई बुझ्न आवश्यक छ,’ उनको भनाइ थियो । लामिछानेले आगामी दिनमा ‘हामी नेपाली’का सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने तयारी रहेको बताए । ‘अरू पक्षसँग पनि संवाद भइरहेको छ, यो रास्वपाको जिम्मेवारी हो,’ उनले भने ।