काठमाडौँ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्ने घोषणा भएपछि सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ। प्रदर्शनको सूचना पाएसँगै प्रहरीले माइतीघर क्षेत्रमा माइकिङ गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँको अनुमति लिएर मात्र कार्यक्रम गर्न आग्रह गरिरहेको छ। अनुमति नलिई प्रदर्शनमा सहभागी हुन आउनेहरूलाई आफ्ना गन्तव्यतर्फ फर्किन समेत अनुरोध गरिएको छ।
प्रहरीका एक अधिकृतका अनुसार सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रशासनको पूर्वअनुमति अनिवार्य छ। “प्रशासनको अनुमति लिएर मात्र कार्यक्रम गर्नुपर्नेछ। अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला,” भन्दै प्रहरी माइकिङ गरिरहेको छ। माइतीघर क्षेत्रलाई संवेदनशील मानिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रहरी सतर्कता बढाइएको बताइएको छ।