काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। उनले सरकारी कार्यालयमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले परम्परागत पोशाक लगाउने व्यवस्था गर्न सकिने प्रस्ताव अघि सारेकी छन्।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपाली समाज विविध मौलिक संस्कृति र परम्पराले भरिपूर्ण भएकाले यसलाई जोगाउन आवश्यक रहेको बताइन्। उनले संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरू हटाउँदै मौलिक पहिचान र वेशभूषा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरिन्। भेटका क्रममा परिषद्का प्रतिनिधिहरू परम्परागत गुरुङ भेशभूषामा उपस्थित थिए, जसको प्रधानमन्त्री कार्कीले प्रशंसा गरेकी थिइन्। परिषद्ले आगामी पुस १५ गते हुने तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको छ।