काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्कीले चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको बताएकी छन् ।
जेन जी आन्दोलनपछि भदौ २७ गते बनेको नयाँ सरकारको एक सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नवयुवाहरुलाई आफ्नो आक्रोश र सपना चुनावमा मतपत्रमार्फत व्यक्त गर्न आग्रह गरेकी छन् ।
फागुन २१ गतेको चुनावलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान समेत उनले सबैलाई आग्रह गरेकी छन् । चुनावले राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको विश्वास छ । चुनावका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।