काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् ।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले भर्खरै जहाज चितवन ल्यान्ड भएको जानकारी दिए । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।