काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना गर्न पार्टीलाई बलियो ढंगले अघि बढाउने बताएका छन् ।
एघारौं महाधिवेशन समापन समारोहलाई बिहीबार साँझ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले एमाले नेतृत्वमाथि चौतर्फी हमला गर्न खोजेको भन्दै उनले नेतृत्वलाई छोए देश ठप्प पार्ने चेतावनी दिए ।
अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार चुनाव गराउने म्याण्डेडबाट बाहिर गएको आरोप लगाए। उनले सर्वोच्च अदालतले राष्ट्रको जटिलतालाई मध्यनजर गर्दै संवैधानिक व्यवस्थामा देशलाई फर्काउन संसद् पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।
उनले निर्वाचन प्रचारप्रसारका लागि बनाइएको आचारसंहिताप्रति पनि आपत्ति जनाए । अध्यक्ष ओलीले जाँचबुझ आयोगको कामप्रति पनि असन्तुष्टि जनाउँदै अर्को आयोग बनाउन माग गरे ।
एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न गर्न आह्वान गर्ने लगायतका २४ बुँदे प्रस्ताव पारित गरेको छ । यसैबीच एमालेले शुक्रबार दिउँसो १ बजे पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरेको छ ।
नयाँ नेतृत्व चयन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।