काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने (भोली)शुक्रबार थुनामुक्त हुने भएका छन् । लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले अदालतको आदेश भए पनि उनी बिहीबार नै थुनामुक्त हुन नपाएका हुन् ।
लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।
उच्च अदालतको आदेशको सक्कल मिसिल शुक्रबार रूपन्देही जिल्ला अदालत भैरहवा पुग्नेछ । त्यसपछि जिल्ला अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए सो को कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । त्यसमा रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर उनी थुनामुक्त हुनेछन् ।