काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज पनि पेशी तोकिएको छ। यसअघि पटक–पटक पेशी स्थगित भएपछि आज सुनुवाइ हुने अपेक्षा गरिएको छ।
यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। यसरी हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेशी स्थगित गरिएको छ।
जिल्ला अदालतको आदेशविरुद्ध दायर भएको, विगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसम्बन्धी निवेदनमा आज बिहीबारका लागि पेशी चढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको यो पेशी कात्तिक १३ गतेयता निरन्तर सातौँ पटकको हो।