काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएको छ। शीतलनिवासस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
यसअघि चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय भने आफूसँगै राखेकी छन्। नवनियुक्त मन्त्रीहरूमा कुमार इङ्नामले भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारीले श्रम, माधव चौलागाईँले वन तथा वातावरण, र श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। शपथपछि मन्त्रीहरूको कार्यविभाजन पनि केही परिवर्तन भएको छ। उद्योग तथा कानुन मन्त्री अनिल सिन्हालाई अतिरिक्त रूपमा पर्यटन मन्त्रालयको जिम्मा दिइएको छ भने अन्य मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको सरकारका प्रवक्ताले जनाएका छन्। यससँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १४ सदस्यीय पुगेको छ।