वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताए।
प्रमुख सिंहले बिपी उद्यानमा रहेका व्यवसायीको कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय बढी लागेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा रु ७० लाखको लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी दिनमा दोस्रोचरणमा पनि थप रु ७० लाख लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको महानगरले जनायो । महानगरका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ ।