काठमाडौँ । मकवानपुरको हेटौँडास्थित राजमार्ग क्षेत्रका करिब ९० प्रतिशत घरहरू सडक विस्तारका लागि भत्काइएको छ। हिजो एकै दिन सरकारले डोजर परिचालन गरी ५३१ वटा घर, पर्खाल, निर्माण सामग्री र अस्थायी व्यापारिक टहरा भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। करिब १० प्रतिशत संरचना अझै हटाउन बाँकी रहेको छ।
बजार क्षेत्रमा बिहानदेखि साँझसम्म डोजर चलाइँदा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको थियो। तोकिएको समयसीमा भित्र संरचना नहटाएपछि सुरक्षाकर्मी परिचालन गरेर त्रिभुवन राजपथबाहेक अन्य क्षेत्रका घरहरू आंशिक रूपमा भत्काइएको थियो। हेटौँडा उप–महानगरपालिकाको रातोमाटे–उद्योग वाणिज्य चोक र बुद्ध चोक–जिल्ला प्रहरी कार्यालयसम्मका घरटहरा डोजरले भत्काएको छ। बाँकी संरचना स्थानीयले आफैं हटाउन थालेका छन्। सर्वोच्च अदालतको आदेश र स्थानीयको अवरोधका बाबजुद सडक विस्तारको काम रोकिएको छैन।