काठमाडौँ । चिकित्सकहरू र मानसिक स्वास्थ्य विज्ञहरूले हालै प्रकाशित विभिन्न वैज्ञानिक अनुसन्धानलाई उद्धृत गर्दै मानिसहरूमा रिस बढ्नु आधुनिक जीवनशैलीसँग प्रत्यक्ष जोडिएको बताएका छन्। उनीहरूको भनाइअनुसनर अत्यधिक तनाव, निद्राको कमी, मस्तिष्कमा हार्मोनको असन्तुलन तथा सामाजिक वातावरणका दबाबले व्यक्तिमा रिसको मात्रा क्रमशः बढाउँदै लगेको अनुसन्धानहरूले देखाएका छन्।
स्वास्थ्य विज्ञानका अध्ययनहरूका अनुसार तनाव बढ्दा शरीरमा कोर्टिसोल र एड्रेनालिन नामक हार्मोनको स्तर तीव्र रूपमा बढ्छ, जसले मानिसलाई झर्किने, चिडचिडाउने तथा सानो कुरामा पनि आक्रोशित हुने बनाउँछ। मनोविज्ञान सम्बन्धी गरिएको एक व्यापक अध्ययनले पर्याप्त निद्रा नपुग्दा दिमागको भावनात्मक नियन्त्रण क्षमता कमजोर हुने र रिस सहजै उत्तेजित हुने प्रमाणित गरेको छ। डाक्टरहरूका अनुसार यस्तो अवस्था दीर्घकालीन भयो भने रक्तचाप बढ्ने, मुटुका समस्या देखिन सक्ने, मानसिक थकान हुने र व्यवहारमा नकारात्मक असर देखिने सम्भावना उच्च हुन्छ। रिस केवल भावना होइन, शरीरमा रसायनिक परिवर्तन भएर आउने प्रतिक्रिया पनि हो, विशेषज्ञहरू भन्छन्।
रिस कम गर्न वैज्ञानिक रूपमा प्रमाणित केही उपायहरू यसप्रकार छन्ः
- गहिरो सास फेर्ने प्राणायामस् अनुसन्धानले मुटुको गति घटाइ तनाव कम गर्ने देखाएको छ।
- ध्यान Meditation दिमागको ‘एमिग्डाला’ भाग शान्त राख्दै भावनात्मक संतुलन कायम राख्न मद्दत गर्छ।
- नियमित व्यायामःशरीरमा सेरोटोनिन र ‘एन्डोर्फिन’ जस्ता सकारात्मक हार्मोन पैदा हुन्छन् जसले रिस घटाउँछ।
- पर्याप्त निद्राः न्यूरोसाइन्सका अध्ययन अनुसार दिनमा ७–८ घण्टा गुणस्तरीय निद्रा भावनात्मक नियन्त्रणका लागि अत्यावश्यक छ।
- डिजिटल डिटक्सः अत्यधिक मोबाइल–सोसल मिडियाले मानसिक उत्तेजना बढाउने भएकाले यसको नियन्त्रण वैज्ञानिक रूपमा उपयोगी देखिएको छ।
- समस्या खुलेर व्यक्त गर्ने अभ्यासः मनोपरामर्शहरूले भावनालाई दबाउनेभन्दा व्यक्त गर्दा तनाव कम हुने प्रमाणित गरेका छन्।
मनोस्वास्थ्य विज्ञहरूका अनुसार रिस पूर्ण रूपमा हटाउनुभन्दा पनि व्यवस्थित ढंगले नियन्त्रण गर्न सक्ने क्षमता विकास गर्नु निकै महत्त्वपूर्ण हुन्छ। विशेषज्ञहरूको सुझाव छ । यदि रिस नियन्त्रण बाहिर जाँदैछ वा दैनन्दिन जीवनमै असर परिरहेको छ भने पेशेवर चिकित्सक वा काउन्सिलरसँग परामर्श लिनु दीर्घकालीन रूपमा सबैभन्दा प्रभावकारी उपाय हो।