काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्कीको पदोन्नति भएपछि एआईजी पद रिक्त रहेको थियो । शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी ईश्वर कार्कीलाई बढुवा सिफारिस गरेको छ । अब डीआईजी कार्कीको बढुवा भएपछि उक्त पद पनि रिक्त भएको छ ।
कोसी प्रदेश प्रहरी प्रमुख समेत रहेका डीआईजी कार्कीलाई सिनियरिटीका आधारमा एआईजीमा बढुवा सिफारिस गरिएपछि अब प्रहरीमा डीआईजी बढुवामा पनि चासोका साथ हेरिएको छ । यस अघि वरियतामा पहिलो नम्बरमा भएर पनि छुटेका एसएसपी विश्व अधिकारीलाई यसपटक न्याय हुने अपेक्षा धेरैले गरेका छन् । दुई साताअघिको बढुवामा उनलाई छुटाइएपछि चर्को आलोचना समेत भएको थियो । तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङले गाउँले एसएसपी अविनारायण काफ्लेलाई बढुवा गर्नका लागि एसएसपी अधिकारीलाई नियतबस छुटाइएका थिए ।
तत्कालिन आईजीपी खापुङले अधिकारीलाई सिनियर र क्षमतावान अधिकृतमाथि अन्याय गरेका थिए । अब भने नवनियुक्त आईजीपी कार्कीले एसएसपी अधिकारीलाई न्याय दिने अपेक्षा गरिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला एसएसपी अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौंमा इञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।
सोही बहानामा छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा छुटाइएको थियो । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको छानबिनका लागि गठन भएको आयोगले छानबिनको प्रक्रिया सुरु गर्नुभन्दा पहिला नै एसएसपी अधिकारीको बढुवा रोकिएको बुझिएको छ । रिक्त हुने डीआईजीको एक पदका लागि अधिकारी बाहेक सोमेन्द्रसिंह राठौर, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल पनि दौडधुपमा छन् ।