काठमाडौँ । पछिल्लो समय बैङ्किङ कसुर मुद्दाका घटनाहरू वृद्धि भइरहेका बेला जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना मार्फत निम्न बुद्धाहरुमा रहेर बैङ्किङ कसुर मुद्दा दर्ता गर्न सकिने बताएको छ । १० लाख भन्दा बढी बिगो भएमा बैङ्किङ कसुर मुद्दामा निम्न कुराहरू बुझ्न आवश्यक देखिन्छ ।
धारकले (चेक प्राप्त गर्ने व्यक्ति) बाउन्सको लागि बैङ्कमा चेक पेश गरे पश्चात्, सम्बन्धित बैङ्कबाट खातावालालाई बढीमा ४५ दिनको म्याद दिई रकम जम्मा गर्न सूचना दिई, चेक अनादर भएको ब्यहोरा प्रमाणित गरिएको सम्बन्धित बैङ्कको पत्र प्रहरी कार्यालयमा पेश गर्नु पर्नेछ । बैङ्कबाट अपर्याप्त कोष उल्लेख भएको बाउन्स स्लिप, कारोबार गर्नुको स्पष्ट प्रयोजन खुल्ने कागजात कारोबारको वैधानिकता पुष्टि गर्ने कागजातहरू बैक स्टेटमेन्ट, भौचर अनिवार्य रूपमा पेश गर्ने बिगो बराबरको आम्दानीको स्रोत खुल्ने कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रहरीले जनाएको छ ।
यस्तै घर जग्गा बिक्रीको लिखत, शेयर/सवारी साधन विक्री गरेको कागजात, कम्पनी भए दर्ता प्रमाण–पत्र, कर चुक्ता र शेयर लगत, लोन /कर्जा लिएको भए सो खुल्ने कागजात, वैदेशिक रोजगार भए रेमिट्यान्सको विवरण कर्मचारी भएमा तलबको विवरण आदी) पेश गर्नुपर्नेछ । पहिलो बाउन्स भएको मितिले १ वर्ष भित्र र बाउन्स भएको जिल्लाबाट मात्र मुद्दाको प्रक्रिया अगाडी बढ्ने जनाएको छ यस्तै नागरिकता प्रमाण–पत्रको छायाँ कपी र अनुसूची ५ बमोजिमको ढाँचामा लेखिएको जाहेरी दरखास्त पेश गर्नुपर्नेछ । यदी स्पष्ट प्रयोजन, कारोबार, स्रोत नखुलेका लेनदेनका बाउन्स चेकका सम्बन्धमा मुलुकी देवानी संहिता, २०७४ बमोजिम अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ र अदालतमा ५ वर्ष सम्ममा मुद्दा दर्ता गर्न सकिनेछ उल्लेख गरिएको छ ।
