काठमाडौं। नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।