काठमाडौँ, १३ फागुन – फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै क्यामरुनको दाउफिन्स फेमली फूटबल क्लबले २१औँ तिलोत्तमा गोल्डकपको उपाधि उचालेको छ।
सोमबार सम्पन्न खेल निर्धारित समयमा गोलरहित बराबरी र पेनाल्टीमा ५–५ गोलको बराबरी भएपछि निर्णय डेथमार्फत लिइएको होे। सडन डेथमा दाउफिन्स ६–५ गोल अन्तरले विजयी भएको हो।
रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा भएको खेलको सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न नसकेपछि पुलिस उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो। दाउफिन्सका मियाले निर्णायक गोल गर्दै पाहुना टोलीलाई उपाधि दिलाएका हुन्।
निर्धारित समयपछिको पेनाल्टीमा दाउफिन्सका जोए गोला, वेरेङ्गा, एकेवइन, प्रिसो, यात्रिक तथा पुलिसका लागि अजित भण्डारी, भरत शाह, रवि पासवान, तिर्थराना र सुमन लामाले गोल गरेका थिए ।
उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार नगद प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ५ लाख ५० हजारमा चित्त बुझायो।