दिल्ली, १३ फागुन – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मार्च १ तारिखदेखि अनिश्चितकालीन भोक हड्ताल गर्ने घोषणा गरेका छन्। दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउनका लागि केजरीवालले भोक हड्ताल गर्न लागेका हुन्।
गत शनिबार दिल्लीको विधानसभालाई सम्बोधन गर्दै केजरीवालले भने, ‘दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउनका लागि म एक मार्चदेखि अनिश्चितकालीन भोक हड्तालमा बस्ने छु।’
विधानसभामा केजरीवालले भने, ‘दिल्लीको निर्वाचित सरकार यहाँका जनतालाई न्याय दिन सक्दैन, उनीहरुको लागि काम गर्न सक्दैन र विकास निर्माणका कार्यलाई पनि ठिक ढंगले अठाडि बढाउन सक्दैन। किनकी दिल्ली सरकारसँग त्यो अधिकार नै छैन्, जुन अधिकार अन्य राज्यहरुसँग छ। दिल्ली सरकारको कामकाजमा केन्द्र सरकारले जहिल्यै पनि बाधा उत्पन्न गरिरहेको छ। केन्द्र सरकारले दिल्ली पुलिस, नगर निगम र दिल्ली विकास प्राधिकरण माथि नियन्त्रण गरिरहेको छ। त्यसैले दिल्ली सरकारले यहाँका जनताको चाहना बमोजिम काम गर्न सकेको छैन।’
अनशन अवधिभर मुख्यमन्त्री केजरीवालले दिल्लीको सबै प्रशासनिक काम अनशन स्थलबाटै गर्ने मन्त्री गोपाल रायले जानकारी दिएका छन्।
भोक हड्तालको लागि अहिल्यै स्थानको घोषणा भइ सकेको छैन। तर रामलिला मैदान, मुख्यमन्त्री आवास र जन्तरमन्तरमध्ये एक ठाउँ हुने आमआद्मी पार्टीका वरिष्ठ नेता गोपाल रायले बताए। रायले भने, मुख्यमन्त्रीको भोक हड्ताल १ मार्चको बिहान १० बजेबाट शुरु हुनेछ।