विराटनगर, १३ फागुन – दक्षिण एशियाली फूटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फूटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ। स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कज विक्रम नेम्वाङले बताए। साफ महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश नं १ ले रु ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताए।
“आगामी दिनमा काठमाडौँ बाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना छ”, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने। खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कूल र सुनसरीको दुहबी नगरपालिकास्थित मैदान उपलब्ध गराइएको छ। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘वी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन्। प्रतियोगिता सम्पन्न गर्न करीब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।