धनगढी, १२ फागुन - तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधी सिवाइसी अत्तरियाले जितेको छ। फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सिवाइसी अत्तरियाले प्रतियोगिताको उपाधी जितेको हो।
अत्तरियाले पहिलोपल्ट प्रतियोगिताको उपाधी जितेको हो, यसअघि भएका दुबै संस्करणमा टिम चौराहा धनगढी विजेता बनेको थियो।पहिले ब्याटिंग गर्दै महेन्द्रनगरले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो।
उपाधी जितेको अत्तरियाले ट्रफि सहित ३० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको महेन्द्रनगरले १२ लाख रुपैयाँमा चित्त बुझाएको छ। यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सन्नी पटेल र उत्कृष्ट बलर भुवन कार्की भए। दुवैले १-१ लाख नगद पाए। प्रतियोगितामा महत्वपूर्ण खेलाडी भएका अत्तरियाका कप्तान दिपेन्द्रसिह ऐरीले सुनको जुत्ता हात पारे।