काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईलाई दिइएको छ ।
फागुन ११ गतेदेखि महानिर्देशकको पद रिक्त रहेका बेला भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईको फागुन ११ बसेको मन्त्रिपरिषद् बैठकले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको थियो ।
मन्त्रालयमा सरुवा भएर आएका भट्टराईलाई उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
यस अघि महानिर्देशकको जिम्मेवारीमा आएका सहसचिव तुलसीनाथ गौतमको १५ दिनमा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि पद रिक्त रहेको थियो । गत माघ २५ गतेमात्रै महानिर्देशकको जिम्मेवारी सम्हालेका सहसचिव गौतमलाई फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।