जाजरकोट। जाजरकोट भीरबाट खसेको ढुङ्गा लागेर जाजरकोटमा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ।
जाजरकोटको नलगाड नगरपालिका ५, को नलगाड हाइड्रोपावरको पहुँचमार्गअन्तर्गत गेरेनी भीर नजिक मोटरसाइकल चलाइरहेको बेला माथिबाट आएको ढुङ्गा लागेर पश्चिम रुकुम आठबिसकोट नगरपालिका ११ चौर निवासी ३२ वर्षीय अशोक खड्काको मृत्यु भएको हो।
खाराबाट कालीमाटीतर्फ आउँदै गरेको मोटरसाइकलमा खड्कामाथि गेरेनी भीरबाट ढुङ्गा खसेको थियो। ढुङ्गा लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलको पछाडिको सिटमा बसेका उनका साथी भने सामान्य घाइते मात्र भएका छन्।