काठमाडौँ । सरकारले धान खरिद गर्न आलटाल गरेपछि किसान धर्ना र तालाबन्दीमै उत्रिएका छन् ।
नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघको अगुवाइमा गत शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका उनीहरूले आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रादेशिक कार्यालय एवं डिपोमा धर्ना दिएका हुन् ।
कतिपय डिपो एवं कार्यालयमा तालाबन्दीसमेत गरिएको महासंघले जनाएको छ ।सरकारले मूल्य तोके पनि समयमै खरिद नगरेको र मल उपलब्ध नगराएको भन्दै दुई महासंघले सुरु गरेको संघर्षका कार्यक्रमअन्तर्गत आइतबार डिपोमा तालाबन्दीलगायत प्रदर्शन गरिएको महासंघको भनाइ छ ।
महासंघको निर्धारित कार्यक्रमअन्तर्गत भैरहवा, वीरगन्ज, बिराटनगर, जनकपुर, बाँके, धनगढी, महेन्द्रनगर, नेपालगन्जलगायतका डिपो एवं कार्यालयमा धर्ना दिइएको उनले जनाइन् । किसानलाई उचित मूल्य दिलाउन भन्दै सरकारले चालु आर्थिक वर्षका लागि गत वर्षभन्दा प्रतिक्विन्टल २ सय २६ रुपैयाँ बढाएर मध्यम धानको मूल्य ३१ सय २८ रुपैयाँ तोकेको छ ।
मोटा धानमा प्रतिक्विन्टल २ सय १५ रुपैयाँ बढाएर २९ सय ६७ रुपैयाँ निर्धारण गरेको छ । तर समयमै खरिद हुन सकेको छैन । जसले गर्दा किसान बाध्य भएर संघर्षमा उत्रिएको नेपाल किसान महासंघ अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताए ।