काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्।
गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए।
महासचिव गौतमले आइतबार सर्वोच्चलाई पठाएको पत्रमा स्पष्ट जवाफ दिएका छैनन्। पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने उनले बताएका छन्।
सर्वोच्च प्रशासनले महाभियोग निष्क्रिय हुने गौतमको पत्रमाथि प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको थियो।
सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ।
सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ। उक्त आदेश अनुसार फुलकोर्टलाई पनि जवाफ पठाउने सचिवालयका महासचिव भरत गौतमले पत्रमार्फत् नै सर्वोच्चलाई जानकारी दिएका छन्।