धनगढी। कैलाली प्रहरीले लागू औषध खैरो हिरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कैलारी गाउँपालिका ७ बसन्ताबाट खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीबेलापुरका शेर सिंह र समिरा सिंह रहेको प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले बताए। उनीहरूबाट लागू औषध ३४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।
सीमावर्ती भारतीय बजारबाट नेपाल आउँदै गरेको विशेष सूचना पाएर खटिएको प्रहरी टोलीले बसन्तामा चेकजाँच गर्दा भारतीय युपी ३१ बी ८०९१ नं को मोटरसाइकलको डिक्कि भित्र लुकाई राखेको अवस्थामा हिरोइन बरामद गरेको बताइएको छ।