झापा। जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन्।
आज बिहान चारकोशे जलथल जङ्गलबाट निस्किएका हात्तीले हल्दिबारी गाउँपालिका–४ स्थित कालीमन्दिर टोलको गाउँमा पसेर आक्रमण गर्दा हल्दिबारी गाउँपालिका–५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल घाइते भएका हुन्।
दुई परिवारका उनीहरूको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ। गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयको भनाइ छ।
आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जङ्गल आसपासका बासिन्दा त्रसित बनेका छन्।