काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
उनले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्री देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सबलीकरण हुने गरी कानुनहरूको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।
जनसेवाको कामलाई प्रभावकारीरूपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकारलगायतका सबै सार्वजनिक सेवालाई प्रभावकारीरूपमा सबै तहमा लागू गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड छ।
उहाँले भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे।