काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
उनले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए।
उनले तीनवटै तहको सरकार मिलेर अघि बढे सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे। उनले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण गराए।
अध्यक्ष नेपालले संविधान प्रदत्त अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सबल ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे।