काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदहरूको नामावली टुंगो लगाएको छ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूको नाम टुंगो लगाएको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।
शनिबारै सो नामावली निर्वाचन आयोगमा बुझाइएको छ। शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सैद्धान्तिक छलफल गरी समानुपातिकतर्फको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो।
यही मंसिर ४ गते भएको निर्वाचनबाट माओवादी केन्द्र प्रतिनिधिसभामा तेस्रो दल बनेको छ । माओवादी केन्द्रले समानुपातिकबाट प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ गरी ४३ सिट जितेको छ ।
