काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन्।
शनिबारदेखि काठमाडौंको दशरथ रङ्गशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
उनले खेल युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए। उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको क्षेत्रमा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए।
उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताए। उनले भने, ‘‘मैले आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु । म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ।’’
अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्त्वपूर्ण योगदान रहने बताए।