काठमाडौं। २८ औँ महानगर दिवसको अवसरमा पारेर आज काठमाडौंका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकै पटक सरसफाइ गरिएको छ।
कार्यक्रमको शुरुवात् टेकु दोभान छेउमा रहेको चिन्तामणि पार्कबाट गरिएको थियो। महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाईमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गरे।
सफाईबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट १ सय मेट्रिक टन फोहोर संकलन भएको छ। वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनका अनुसार ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको छ।
वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन परिचालन गरेको थियो। जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको थियो। ४ फरक क्षेत्रमा व्रुमरको प्रयोग गरेर धुलो बटुलिएको थियो।
स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डला, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो।