काठमाडौं। सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनको सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै आजै आदेश दिने तयारी भइरहेको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलासमा रिट सुनुवाइ भएको हो।
रिट निवेदनमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, नेपाल बार एशोसिएसनका गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गरेका छन्।
संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए। त्यसविरुद्ध सोही दिन सर्वोच्चमा रिट परेको थियो।