काठमाडौं। मेलम्चीको पानी वितरण सुरु भएको छ।
तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहानदेखि पानी वितरण सुरु गरे।
गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द भएको थियो। मन्त्री चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरण गरे।
उक्त कार्यक्रममा खानेपानी मन्त्री चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाए।
उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिए।
मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौं भण्डार केन्द्रका लागि पानी छोडिएको थियो। यस पटक छ महिना पानी वितरण गरिने छ।