चितवन। इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। आज बिहान फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
नारायणगढबाट काठमाडौं जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन्। घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ।