काठमाडौं। पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।
३५ दिने र अन्तिम पटकको तीन दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो।
आज नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन्। व्यापारी र केही स्थानीयको अवरोधकाबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ।
नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ। सडकपेटी खाली गराउन पुगेका नगरप्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर कारबाहीमा उत्रनुपरेको बताए।
उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको गुनासो गरे।