दाङ। लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ।
यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ।
मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पुर्याइएको हो। दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास गृह निर्माण गरिएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले भने, ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ।
मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ। उनले यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखानियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको जानकारी दिए।
यसअघि गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, बुटवल नगरप्रमुख खेलराज पाण्डेलगायतले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबन्दै तत्काल मन्त्रालयहरू नसार्न आग्रहसहित ज्ञापनपत्र बुझाएका थिए।
नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए। कर्मचारीहरूले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र समेत बुझाएका थिए।
नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सपथ खुवाउनेसमेत तयारी गरिएको छ। प्रदेशसभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ।
२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो।
विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका–५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ।