पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भतिजलाई कानुनविपरीत महानगरपालिकामा नियुक्त गरेको खुलेको छ।
उनले भतिज खेमराज आचार्यलाई कानुनविपरीत अधिकृतको सेवा सुविधा दिएर स्वकीय सचिव नियुक्त गरेका हुन्।
गण्डकी प्रदेश सरकारले २०७७ सालमा बनाएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार मेयरले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाबराबरको स्वकीय सचिव राख्न पाउँछन्। तर, मेयर आचार्यले गत १९ साउनदेखि भतिज आचार्यलाई अधिकृतको नियुक्ति दिएर महानगरपालिकामा करारमा भर्ती गरेका हुन्।
मेयर आचार्यले भतिजलाई कुन महाशाखा–शाखामा नियुक्त गरिएको हो खुलाएका छैनन्। कर्मचारी नियुक्त गरेर आचार्यलाई स्वकीय सचिवको जिम्मेवारी दिइएको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्र अनुसार सेवा करार सम्झौतामा रहेका सेवा सर्त लागु हुने गरी २०७९ श्रावण १ गते देखि २०७९ पुस मसान्तसम्मका लागि नियुक्त गरिएको छ।
