काठमाडौँ । मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको विषय यतिबेला चर्चामा छ ।
मनाङे प्रवेश गरेसँगै एकीकृत समाजवादीको पनि गण्डकी प्रदेशसभामा प्रतिनिधित्व हुँदैछ। तर उनलाई पार्टी प्रवेश गराएकोमा अध्यक्ष माधवकुमार नेपालप्रति पार्टीको कास्की जिल्लाका नेता असन्तुष्ट देखिएका छन् ।
मनाङेलाई अध्यक्ष नेपालले स्वागत गरेको तस्वीर राख्दै कास्कीका नेता शिवजी गुरुङले फेसबुकमा व्याङ्ग्यात्मक शैलीमा असन्तुष्टि जनाएका छन् । उनले सोमबार साँझ लेखेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा कुनै पनि क्षेत्रमा जित्न नसकेको र समानुपातिकतर्फ जम्मा ९५७३ ल्याएको नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तारको गज्जबको कार्यक्रम लिएर आएछ – मनाङेलाई पार्टीमा प्रवेश गराउने ।’
उनले चुनावमा आएको नतिजाको वस्तुगत समीक्षा गर्नुको सट्टा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदा पार्टी शून्यतातर्फ जानेसम्मको तर्क गरेका छन् । नेता गुरुङले पार्टी छोड्नेसम्मको अभिव्यक्ति दिएका छन् ।‘असफलताको वस्तुगत समीक्षा गरी जनचाहना अनुरुपको नीति–कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरूलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जाने छ । बेलैमा चेतना भय । तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने उहाँलाई प्रवेश गराउँदै गर्नु । हामी बहिरिदिउँला नि बरु,’ नेता गुरुङले भनेका छन् ।
