काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । आज (मंगलबार)धेरै सङ्ख्यामा जम्मा भएका सुकुम्वासीहरूले आफूहरूलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत भएका थिए ।
नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरूले महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरूले ‘सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतङ्क बन्द गर’लगायतका नाराबाजी गरेका थिए ।
‘भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको विरुद्ध बृहत् खबरदारी र्याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालो पट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी सम्बद्ध दुई दर्जनभन्दा बढी सङ्घ, सङ्गठन र मोर्चाहरूको नाममा विरोध प्रदर्शन भएको थियो ।