काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।
उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव गर्नका लागि सोही स्तरको हल आवश्यक रहेको बताए । बीआईसीसी भवन संसद् बस्नका निम्ति नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रूपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताए ।
सरकारले ठूलाठूला मेला, महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले मेला, महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।