काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखिका कामका विवरण सार्वजनिक गरेका छन्।
उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुनेसमेत उल्लेख गरेका छन्।
‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति यही नै हो,’ उनले भनेका छन्। सांसद भएपछि गरेका कामका विवरणबारे उनले ४ बुँदा सार्वजनिक गरेका छन्। जसमा बिजुली र रासायनिक मलका लागि पहल गरेका विवरण छन्।
‘मेरो निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश टेन्डर आह्वान गरेर विद्युत लाइन विस्तार हुने भएको छ। विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल विद्युत लाइन विस्तार गर्न छलफल भएको छ। अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ,’ उनले भनेका छन्।
साथै उनले कालिका नगरपालिकाको विद्युत नपुगेका पहाडी भेगमा पनि तत्काल विद्युत विस्तार हुने बताएका छन्। उनले समसामयिक राजनीतिबारे पनि नजिकबाट नियालीरहेको उल्लेख गरेका छन्।
१) मेराे निर्वाचन क्षेत्र चितवन- २ काे ईच्छाकामना गाउँपालिकाकाे २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेका स्थानमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने भएकाे छ । आज बिद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ ज्यु सँग तत्काल बिद्युत लाईन बिस्तार गर्न छ्लफल भएकाे छ । अब छिटोभन्दा छिटाे मेराे निर्वाचन क्षेत्रका नागरिकले टुकि बाल्नु पर्ने अवस्थाकाे अन्त्य हुनेछ ।
२) चितवनका किसानले वर्षाै देखि भाेगेकाे रासायनिक मलकाे अभाब अन्त्यका लागि आज कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था , भण्डारण र वितरणकाे अवस्था निरिक्षण गरेको छु । दुबै भेटघाट निकै फलदायी बनेका छन् ।
३) कालिका नगरपालिकाकाे बिद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल बिद्युत बिस्तार हुने छ ।
४) केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पुर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौ।