गण्डकी । गण्डकी प्रदेशसभा गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ ।
मनाङको प्रदेश निर्वाचन क्षेत्र २ मा राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन । हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । काँग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ ।
यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ ।
कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ नवलपुर–१ (२) मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, काँग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।