इलाम । इलाम-२ बाट नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका हुन्।
नेम्बाङले ३० हजार २० मत र नेपाली कांग्रेसका खड्काले २९ हजार ९०६ प्राप्त गरेको मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ।यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले एक हजार ३८० र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका मनिकुमार लिम्बू पापोले एक हजार ३३६ प्राप्त गरेका छन्।
२०५६ सालदेखि इलाम-२ बाट निर्वाचित हुँदै आएका नेम्बाङले यस पटक पनि निर्वाचित भएर आफ्नो अपराजित यात्रा कायम राखेका छन्। उनले यसअघि २०५६, २०६५, २०७० र २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। नेम्बाङ सभामुख र संविधान सभा अध्यक्ष समेत रहिसकेका छन्।