काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशालामा पाकिस्तान र भारतबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै टिम स्पष्ट जितको खोजीमा हुनेछन् । कट्टर प्रतिद्वन्द्वी भएका कारण भारत र पाकिस्तानको खेल निकै महत्वका साथ हेरिने गरिन्छ ।
पाकिस्तानी महिला फुटबल टिम आठ वर्षपछि अन्तर्राष्ट्रिय खेलको लागि मैदानमा उत्रिँदै छ । फिफाको प्रतिबन्धको कारण पाकिस्तानले लामो समय अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा भाग लिन पाएन । यता, भारत भने साफ च्याम्पियनसिपको डिफेन्डिङ राष्ट्र हो ।
भारतले साफ च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म लगातार उपाधि जित्दै आएको छ । साफ च्याम्पियनसिप सुरु हुनुभन्दा केही दिन अगाडि भारतलाई पनि फिफाले प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्धलाई हटाएपछि भारतले अन्तिम समयमा आएर साफ च्याम्पियनसिप खेल्ने पक्का भएको थियो ।
यता, माल्दिभ्स र बंगलादेशबीचको खेल भने ५ः३० बजे सुरु हुनेछ । माल्दिभ्स भन्दा बंगलादेश बलियो टिम हो । यसअघि मंगलबार भएको उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरिन् ।