काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ ।नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रि-म्याचमा भुटानलाई कमजोर नआक्ने बताएका थिए ।
नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ । नेपाली टिमकी नवनियुक्त कप्तान एन्जिला सुब्बाले उपाधि घरमै राख्न प्रयास गर्ने बताएकी थिइन् ।यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।